घरजग्गा व्यवसाय अब झन् फस्टाउँछ । अरु विकल्प नै छैन्
बजेटको आकार ठीकै छ । गृहकार्य पनि भएकै देखिन्छ । बजेटले स्वास्थ्य, रोजगार, कृषि र उद्यमशीलतालाई प्राथमिकता दिएको छ । पुँजी, ज्ञान र सीपको कुरा उठाइएको छ । आन्तरिक पर्यटनका लागि लीभ ट्राभल एसिस्टेन्टको कुरा राम्रै छ ।खर्च कटौती गर्ने कुरा राम्रो हो । घरजग्गा तथा रियलस्टेट व्यवसायको सन्दर्भमा पनि थोरबहुत कुरा परेकै छन् ।
एनआरएन समुदायको कुरा र्फोसफुल्ली राखेका थियौं त्यसमा पुँजी, ज्ञान र सीप भनेर बजेटले बोलेको छ । किन्न पाउने कुरा मात्र होइन त्यसमा के कति छुट दिने भन्ने पछि रातो किताबमा आउला नै । त्यो राम्रो पक्ष हो । वैदेशिक रोजगारमा गएर फर्किन चाहनेलाई पनि व्यवस्थित गर्दैछ । घरजग्गा व्यवसायलाई व्यवस्थित गर्न जग्गाको वर्गीकरण गर्ने कुरा, नयाँ नापीनक्सा गर्ने, मालपोत बढाउने, कर्मचारीलाई सहुलियतपूर्ण रुपमा आवास कर्जा सुविधा दिने जस्ता व्यवस्थालाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । त्यसले कुनचाँहि आवासीय जग्गा, कुन चाँहि कृषि जगगा भन्ने छुट्टाउन सजिलो भयो । स्वदेशी वस्तु र सेवाका लागि राम्रो उत्साह थपिएको छ ।
अर्को सबै प्रदेश तथा स्थानीय तहमा निजी क्षेत्रको सहयोगमा व्यवस्थित शहर बनाउने कुरा पनि बजेटले समेटेको छ । काठमाडौं मै चारवटा स्मार्टसिटी बनाउने कुरा अत्यन्त राम्रो छ । विदेशीले पनि नेपालमा २ लाख डलरसम्मको अपार्टमेन्ट किन्न पाउनुपर्छ भन्ने कुरा बिगतको बजेटले पनि समेटेको नै हो । त्यसलाई भोलिका दिनमा कार्यान्वयन कसरी गराउने भन्ने कुरा हो । कम ब्याजदर, पुर्नकर्जाको कुरा बजेटले नीतिगत रुपमा समेटेको छ, बाँकी कुरा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत समेटने नै छ ।
धरै नयाँ कुरा भएपनि यसपालाको बजेट फरक परिबेशमा आएको छ । आयको स्वयं घोषणा गर्ने विषयलाई डिजिटलाइज गर्ने शब्दमा समेटिएको छ । बजेट आउनुमात्रै ठूलो कुरा होइन । त्यसलाई कसरी कार्यान्वयनको तहमा लैजान सकिन्छ, हाम्रो मेकानिज्म त्यसका लागि सक्षम छ कि छैन् भन्ने महत्वपूर्ण कुरा हो । घोषणा गर्नु मात्र ठुलो कुरा होइन त्यसलाई कति संवेदनशिल रुपमा कार्यान्वनमा लगिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसका लागि सहज कार्यविधि बनाउन सक्नुपर्छ ।
सिधा रुपमा घरजग्गा नभनेपनि कोरोनाले गर्दा घरवेटी र डेरावाला बीच ठूलो खाडल खडा गरिदिएको छ । घर भाडामै लगाएर कमाउछु भन्नेलाई त अहिले गाह्रो भो । डेरामा बस्नेलाई पनि ठुलै समस्या खडा भएको छ । बाहिरबाट आउना साथ कोरोना नै लिएर आयो कि भन्ने त्रास घरधनीमा पैदा भएको अवस्था छ । सबै मानसिक त्रासमा बाँचेका छन् । डेरामा बस्नेलाई के भैरहेको छ भने यो लकडाउन खुल्नासाथ कुनैपनि हालतमा शहरमा एउटा घर बनाउछु वा किन्छु भन्ने संकल्प गरेका छन् । छिछि दुरदुर भएर अर्काको घरमा किन बस्ने भन्ने मानसिकता यो कोरोना महामारीले मध्यम वर्गमा विकसित गरिदिएको छ । त्यसैले रिफाईनान्सिङ र सरकारी कर्मचारीलाई सहुलियपूर्ण आवास कर्जाको नीतिले पनि घरजग्गा व्यवसाय अब झन् फस्टाउँछ । अरु विकल्प नै छैन्