कोरोना रोकथामका लागि हामीसँग भएको तीनवटा मात्रै विकल्प हो । पहिलो कोरोनाको भ्याक्सिन, दोस्रो कोरोनाको औषधि र तेस्रो विकल्प भनेको भ्याक्सिन र औषधि पत्ता नलाग्दासम्म कसरी सुरक्षित हुने भन्ने नै हो । सामाजिक दुरी कायम गर्ने नै हो । संक्रमणबाट कसरी बचेर काम गर्ने भन्ने नै हो । मैले कोभिडलाई ‘नो भीड’ भन्ने गरेको छु । अब नोभिडको कन्सेप्टमै हामी अगाडि जानुपर्छ ।

संसारमा लकडाउन समयपछि नेपाल नै पहिलो देश होला सायद ५१ औं दिनसम्म पनि कोरोना संक्रमित भएकामध्ये एक जनाको पनि मृत्यु भएको हामीले भन्नु परेन । लामो समयसम्म नेपाल सुरक्षित छ भनेर बाहिरका धेरै मान्छे विमान नै चार्टर गरेर नेपाल आउन खोजेका थिए । त्यो भनेको हाम्रा लागि एड्भान्टेज हो जस्तो लाग्छ ।

अहिलेको समयमा सबैभन्दा चाहिने भनेको घर नै रहेछ । बैंकमा भएको पैसाको खास प्रयोग छैन, सेयरहरुको कुनै भ्यालु छैन, मसँग भएको गाडीको प्रयोग नै छैन । सुनको कुनै महत्व नै छैन, संसारमा जबजब कठिन समय आउँछ, त्यस बेला सबैभन्दा बढी महत्वपूर्ण भनेको घर नै हुने रहेछ । मान्छेको सबैभन्दा सुरक्षित र लगानी भनेको घर नै रहेछ भन्ने मान्छेले बुझे ।

लकडाउनको समयमा घरलाई कसरी मान्छेहरुले हेरिरहेका छन् त भनेर हामीले एउटा सर्वेक्षण नै गर्यौं । काठमाडौं उपत्यका गरिएको त्यो सर्वेक्षणले काठमाडौं उपत्यकाभित्रै पनि रिङरोड भित्रै बस्न चाहनेहरु देखियो । १६ प्रतिशतले अहिले जहाँ बसिरहेको छ त्यहीँ ठीक भनेका छन्, अरु घर परिवर्तन गर्न खोजेको देखिएको छ । चार आनासम्मको जग्गामा घर बनाउन चाहनेहरुको संख्या ३१ प्रतिशत देखिन्छ भने ४ देखि ८ आनासम्मको जग्गामा घर बनाउन खोज्नेहरु ४० प्रतिशत माथि रहेको देखिएको छ ।

१ करोड रुपैयाँसम्मको घर खोज्नेहरुको संख्या निकै उच्च देखियो । घर आफैले बनाउने भन्ने संख्या थोरै देखियो । यसले मान्छेलाई घर महत्वपूर्ण रहेछ भन्ने देखाएको छ । लकडाउनपछि घरको बजार बढ्ने देखिएको छ । विदेशमा बस्ने नेपालीहरुले पनि अहिले मातृभूमि नै ठुलो रहेछ, नेपाल नै फर्कनु पर्ने रहेछ भन्ने सोच्न थालेका छन् ।

विदेशमा बसे पनि नेपालमा एउटा घर त हुनुपर्ने रहेछ भन्ने पनि धेरै सोच विदेशमा रहेका धेरै नेपालीहरुमा आएको छ । त्यो भनेको हाम्रो देशको अर्थतन्त्रमा ठुलो योगदान हुन सक्छ । त्यसरी बैंकिङ माध्यमबाट पैसा आयो भने त्यसले अर्थतन्त्रमा पनि योगदान दिन्छ र त्यसरी नेपालमा घर जग्गा जोड्न खोज्नेहरुलाई स्वागत पनि राज्यले गर्नुपर्छ ।

पूर्वाधारमा सीप भएकालाई नयाँ अवसर

रोजगारीका लागि विदेश गएका नेपालीहरु नेपाल फर्कने हो भने त्यो देशका लागि ठुलो सम्पत्ति हुन्छ । मध्यपूर्वी देशमा रोजगारीमा रहेका सीपयुक्त कामदारहरु हाम्रो देशको लागि ठुलो सम्पत्ति हो । किनभने कतार, दुबई, साउदी जहाँ गए पनि त्यहाँको जति पनि राम्रो पूर्वाधार बनेका छन्, त्यो होटल, घर बनाउनेहरुमा नेपालीहरुको संलग्नता छ । त्यसैले उनीहरु निर्माण क्षेत्रका कामदार नै हुन् । रोजगारीका गएकामध्ये ७० प्रतिशतसम्म निर्माण क्षेत्रमा नै गएका छन् । जो मान्छेहरुको सीप अन्तर्राष्टिय स्तरको सीप जानिसकेकाहरु छन्, उनीहरुसँग त्यो क्षमता पनि छ । उनीहरुलाई स्वदेश आउनासाथै पहिलो दिनदेखि नै रोजगारीको अवसर हुन्छ । नेपालबाट भारतमा मात्रै ३ खर्ब रुपैयाँ रेमिट्यान्स भएर जान्छ । हामीकहाँ ७–८ खर्ब रमिट्यान्सबाट आउँछ । नेपाल सातौं मुलुक रहेछ, भारतमा रेमिट्यान्स भित्र्याउने । खाडी मुलुकबाट नेपाली सीपयुक्त जनशक्ति आउनासाथ नै त्यो ठाउँमा हाम्रो मान्छेले रोजगारी पाउने भए नी ।

ठुला निर्माण तिहार, छठपछि मात्र

नेपालमा भइरहेका ठुला परियोजना चाहेर पनि तिहार, छठ नसकिदासम्म सुरु हुने देखिँदैन । किनभने परियोजनाका लागि एउटा कम्पोनन्ट मिलेर मात्रै हुँदैन, धेरै कम्पोनेन्ट मिल्नुपर्छ, अहिले काभिडको समस्याको कारणले गर्दा त्यो सम्भव छैन । यो क्षेत्रले रोजगारी दिने, घर बनाउन सिमेन्टको प्रयोग हुने भएकाले सिमेन्टको खपत बढ्ने हुँदा सिमेन्ट, इटा, डन्डी, बैंकहरुलाई नयाँ परियोजनामा फन्डिङ गर्न पनि सहयोग पुर्याउँछ । यो व्यवसायका कारण धेरै व्यवसाय चल्नेछन् । केही न केही रुपले अर्थतन्त्रलाई चलायमान बनाउने छ ।

कमर्सियल रियल स्टेट जोखिममा

कोरानोपछि नेपालको जग्गाको कारोबार के हुन्छ भन्ने विषयमा लकडाउन खुलिसकेपछि मात्रै थाहाँ हुन्छ, अहिले थाहा हुँदैन । अहिले जोखिम भने कमर्सियल रियल स्टेटमा हुन्छ । सपिङ मल, रिटेल, अफिस स्पेसेस्मा केही समयका लागि तत्काल असर पर्छ । तर, रेसिडेन्सीयल रियल स्टेटमा असर पर्दैन । अहिलेको बेलामा सुःख, सुविधालाई हेर्ने हो भने आवासिय रियल स्टेटको बजार उच्च हुन्छ । त्यसैमा लगानीको सन्दर्भबाट हेर्ने हो भने कोरोना भाइरस अगाडि मान्छेको खर्च धेरैमा बाँडिन्थ्यो । अहिले अनावश्यक खर्चहरु सबै रोकियो । धेरै समय घरमा बस्ने भएपछि घरमा नै लगानी बढाउने भए । घरलाई हामीले विदेशीले जस्तो सामानको रुपमा हेर्दैनौं, सम्पत्तिको रुपमा हेर्छौ । त्यसैले अहिलेको बेलासम्म यो क्षेत्रका लागि राम्रो हुन्छ र अर्थतन्त्रका लागि पनि राम्रो गर्छ । देशको धेरै क्षेत्र प्रभावित भएको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन यो क्षेत्रले सहयोग गर्छ ।

विदेशीलाई अपार्टमेन्ट

संसारभरी विदेशीले अपार्टमेन्ट किन्न पाउने भन्ने व्यवस्था छ । हाम्रोमा पनि दुई पटकसम्म बजेटमै घोषणा भएको छ । २ लाख डलरसम्मको अपार्टमेन्ट विदेशीले किन्न पाउने र पाँच वर्षसम्म विक्री गर्न नपाउने भनेको छ । हामीले नयाँ नीति नै बनाउनु पर्दैन, भएका नीति कार्यान्वयन गरिदिए मात्रै पनि हुन्छ । विदेशमा बस्ने नेपालीहरुलाई राज्यले बोलाउनु पर्यो । त्यसले राज्यलाई नै फाइदा गर्छ । विदेशमा बस्नेले नेपालमा घर किन्दा राजस्वमा केही प्रतिशत छुट दिनुपर्छ । त्यसले सरकारको राजस्व पनि घट्दैन र विदेशमा बस्नेहरुलाई पनि आकर्षित गरेको देखिन्छ । विदेशमा कमाएर ल्याएर नेपालमा कर्म गर्ने ठाउँ बनाउन राज्यले पनि सहयोग गर्नुपर्छ । अपार्टमेन्ट खरिद गर्न मात्रै होइन प्रत्यक्ष वैदेशिक लगानी पनि ल्याउन सक्ने र नाफा लैजान पाउने व्यवस्था गरिदिनुपर्छ । यसका लागि छुट्टै नीति बनाइराख्नु पनि पर्दैन । नीति छ, भएको नीति कार्यान्वयन मात्रै गरिदिए हुन्छ ।